भीरबाट बस खस्दा ११ यात्रु घाइते (तस्बिरसहित )
436
4
फोटो :ललितबहादुर बुढा (भीरमा खसेको बस हेर्दै सशस्त्र प्रहरीको टोली)
सुर्खेतः सुर्खेतमा मंगलवार राती यात्रुबाहक बस भीरबाट खस्दा ११ जना घाइते भएका छन्। बाँकेको नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मध्यपश्चिम यातायात व्यवसायी समितिको भे १ ख १३७० नम्वरको यात्रु बस कर्णाली राजमार्ग अन्तर्गत बाङ्गेसिमल नजिक दुर्घटनामा परेको हो।
राति १२ बजे बस सुर्खेत सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल नजिकैको भिरबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। प्रहरीका अनुसार बस सडकबाट करिव ३५ मिटर तल खसेको छ। घाइते भएका ११ जनाको राति नै उद्धार गरी मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना गरिएको छ।
सडकबाट खसेर भीरमा पुगेको बस
घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । बसका चालक फरार रहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) राजेशकुमार लाल कर्णले बताए । कर्णका अनुसार सकुशल रहेका यात्रुहरुलाई राति नै जुम्ला पठाइएको छ ।
पछिल्लो एक महिना यता मध्यपश्चिम यातायात व्यवसायी समितिकै तीन वटा बस दुर्घटनामा परेका छन् । तीनवटा दुर्घटनामा गरेर ७० जनाको मृत्यु भएको छ भने करिव सय बढी नागरीक घाइते भएका छन्।
दुर्घटनामा परेको बस
बारम्वार मध्यपश्चिम समितिकै बस दुर्घटनामा पर्न थालेपछि यात्रुहरुमा त्रास उत्पन्न भएको छ । प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि कडाई गरिरहँदा दुर्घटनाको क्रम पनि रोकिएको छैन ।
एक महिना पहिला जाजरकोटको भरचौरबाट मध्यपश्चिम समितिकै गाडी भेरी नदिमा खस्दा ५२ जना र मंसिर २१ गते सुर्खेतको पोखरीकाँडामा सोही समितिकै बस भिरबाट खस्दा १८ जनाले ज्यान गुमाएका थिए ।